Proverbs 2 (हितोपदेश‬)


  1. हे मेरो छोरा, यदि तैंले मेरा वचनहरू ग्रहण गरिस्, र मेरा आज्ञाहरू तेरो मनभित्र राखिस्‌ भने, 
  2. बुद्धिका कुराहरू ध्यान दिइस्‌ र तेरो हृदयलाई समझशक्तितिर लगाइस्‌ भने, 
  3. अन्‍तर्दृष्‍टिको लागि पुकारा गरिस्, र समझशक्ति पाउनलाई चर्को सोरले पुकारिस्‌ भने, 
  4. यदि तैंले चाँदीझैँ त्‍यसलाई खोजिस्, र गाड़धनझैँ त्‍यो खनिस्‌ भने, 
  5. तैंले परमप्रभुको भय बुझ्‍नेछस्, र परमेश्‍वरको ज्ञान प्राप्‍त गर्नेछस्‌। 
  6. किनभने परमप्रभुले बुद्धि दिनुहुन्‍छ, र उहाँको मुखबाट ज्ञान र समझशक्तिका कुराहरू निस्‍कन्‍छन्‌। 
  7. उहाँले ईमानदारको लागि आफ्‍नो भण्‍डारमा विजय साँचेर राख्‍नुभएको छ, जसको चाल निर्दोष छ तिनीहरूका लागि उहाँ ढाल हुनुहुन्‍छ, 
  8. किनभने उहाँले न्‍यायको मार्ग रक्षा गर्नुहुन्‍छ, र आफ्‍ना विश्‍वासयोग्‍य भक्तजनहरूको बाटो सुरक्षित राख्‍नुहुन्‍छ। 
  9. तब धार्मिकता न्‍यायसङ्गत र उचित के हो— साथै हरेक असल मार्ग के हो तैंले बुझ्‍नेछस्‌। 
  10. किनभने बुद्धिले तेरो हृदयमा प्रवेश गर्नेछ, र ज्ञानचाहिँ तेरो प्राणको लागि आनन्‍ददायक हुनेछ। 
  11. विवेकले तँमाथि हेरचाह गर्नेछ, समझशक्तिले तेरो रक्षा गर्नेछ। 
  12. बुद्धिले तँलाई दुष्‍ट चालबाट, र छली कुरा गर्ने मानिसहरूबाट जोगाउनेछ। 
  13. त्‍यस्‍ताहरू ईमानदारीको चाल त्‍यागेर अन्‍धकारमा हिँड्‌डुल गर्छन्, 
  14. तिनीहरू खराब काम गर्नमा प्रसन्‍न हुन्‍छन्, र दुष्‍टको बदमाशीमा रमाउँछन्, 
  15. जसका बाटाहरू बाङ्गोटिङ्गो, र जसका आफ्‍नै चालहरू कुटिल छन्‌। 
  16. बुद्धिले तँलाई व्‍यभिचारिणी, र अनैतिक स्‍त्रीका लोभ्‍याउने कुराहरूबाट जोगाउनेछ, 
  17. जसले आफ्‍नो यौवनको पतिलाई त्‍यागेकी छे, र परमेश्‍वरको सामु आफूले बाँधेको करारको बेवास्‍ता गरेकी छे।
  18. त्‍यसको घरभित्र पस्‍नेलाई मृत्‍युले ओह्रालो लैजान्‍छ, र त्‍यसको बाटोमा लाग्‍नेहरू मृतकहरूको देशमा पुग्‍छन्‌। 
  19. त्‍यस स्‍त्रीकहाँ जानेहरू कोही पनि फर्केर आउनेछैन, न त त्‍यस्‍ताहरूले जीवनको मार्ग नै भेट्टाउनेछन्‌। 
  20. यसैकारण भला मानिसहरूको अनुसरण गर्, र धर्मी मानिसको चालमा लागिबस्‌। 
  21. किनभने धर्मीहरू देशमा वास गर्नेछन्, र निर्दोष मानिसहरू त्‍यहाँ रहनेछन्‌। 
  22. तर दुष्‍टहरू देशबाट जरैसमेत उखेलिनेछन्, र विश्‍वासघातीहरू झारझैँ फ्‍याँकिनेछन्‌।

‭‭

Comments

Popular posts from this blog

Love is an Action

Isaac (इसहाक)

Adam